मकवानपुर क्याम्पस र सिएमसि चुरेहिल अस्पतालबीच सम्झौता
२८ असार, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पस र सिएमसि चुरेहिल अस्पताल बिच क्याम्पसको बिद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा छुट सम्झौता भएको छ ।
अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटीको पहलमा शुक्रबार भएको सम्झौतामा क्याम्पसको बिद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा २० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत छुट हुने उल्लेख गरिएको छ । क्याम्पसको परिचयपत्रको आधारमा उक्त स्वास्थ्य सुबिधा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ । सम्झौतापत्रमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. यम सिलवाल र अस्पतालका अध्यक्ष प्रताप देबकोटाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा अस्पतालले क्याम्पसमा अतिथि प्राध्यापकमार्फत शिक्षणमा सहयोग गर्ने र विज्ञान संकायका बिद्यार्थीहरुलाई अभ्यासको लागि प्रयोगशाला उपलब्ध गराउने उल्लेख गरिएको छ । क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु र कार्यरत प्राध्यापक र कर्मचारीहरुको स्वास्थ्य उपचारमा सहज बनाउन सिएमसि चुरेहिल अस्पतालबिच उपचार लगायतको सम्झौता गर्न पहल गरिएको अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालले बताउनुभयो ।














