म्यानेजमेन्ट र पर्साको बिजयी सुरुवात

संवाददाता
२६ फाल्गुन २०८०, शनिबार १९:०३

२६ फागुन, हेटौँडा । स्वर्गीय अष्टकुमारी शाक्य स्मृति अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगितामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र नेशनल इन्फोटेक कलेज पर्साले विजयी सुरुवात गरेको छ ।
हेटौंडा जेसीजको आयोजना र जिल्ला क्रिकेट संघ मकवानपुरको प्राविधिक सहयोगमा हेटौंडा ४ हुप्राचौरमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई ७ विकेटले पराजित गरेको हो । सिटी कलेजले दिएको १ सय १४ रनको लक्ष्य म्यानेजमेन्टले १५ ओभरमा तीन विकेट गुमाएर भेटायो । यसअघि सिटी कलेजले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । उक्त खेलको म्यान अफ दि म्याच म्यानेजमेन्टका युविन बुढाथोकी घोषित भए ।
यसैगरी शनिबार नै भएको दोश्रो खेलमा पर्साले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो । पर्साले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको सिमरा १९ ओभरमा दश विकेट गुमाउँदै ८२ रनमा समेटियो । दोस्रो खेलमा वीरगञ्जका मन्थन यादब म्यान अफ दी म्याच घोषित भए ।


बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा खेलको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै सदस्य सचिव भण्डारीले प्रदेश सरकारले खेल क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले हेटौँडा–६, गौरिटारस्थित रंगशालामा राष्ट्रियस्तरको क्रिकेट मैदान र स्वीमिङ पुल निर्माणका लागि टेण्डर आव्हन भैसकेको जानकारी दिनुभयो ।
हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा गृह जिल्लासहित बारा, पर्सा र चितवनका क्याम्पसहरुले सहभागिता जनाएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*