युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनसँग राष्ट्रपतिको आग्रह
५ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मन सरकारसँग आग्रह गर्नुभएको छ ।
जर्मन भ्रमणका क्रममा उहाँले जर्मनी समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो । बुधवार स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मन भ्रमणबारे जानकारी गराउँदै परराष्ट्र सचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको जानकारी दिनुभयो । उहाँले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपतिसँग दुई पक्षिय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको पनि सचिव लम्सालले बताउनुभयो । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।














