युवाको आवश्यकतालाई सम्बोधन गर्न नयाँ युवा नीति आवश्यकः राष्ट्रपति पौडेल

संवाददाता
२८ श्रावण २०८१, सोमबार १३:००

२८ श्रावण, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यकता भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले बदलिँदो सामाजिक परिवेश अनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी सरकारले नयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले युवाहरुलाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्व शान्ति, सहअस्तित्वको भावना जागृत गराउनुपर्ने बताउनु भयो । उहाँले समानता एवं समतामुलक वितरणको सिद्धान्तको आधारमा युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरीले युवा वर्गलाई नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौति थपिएको बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताउनु भयो ।
मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रुपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भुमिकाबाट युवा उद्यमशिलतामा जोड दिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*