रातदिन सरकार ढाल्ने कोसिस हुँदैछः प्रधानमन्त्री दाहाल
२५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन पुरै कार्यकालसम्म टिक्ने बताउनुभएको छ ।
सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएलगत्तै सत्ता गठबन्धनबारे विभिन्न टिकाटिप्पणी हुन थालेको बताउनुभयो । उहाँले अहिलेपनि विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने कसरत भइरहेको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनका बैठकहरु हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने पनि दाबी गर्नुभयो । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि नै अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
यसैगरी प्रधानमन्त्री दाहालले एनसेलमा प्रधानमन्त्रीले नै ठुलो भ्रष्टचार ग¥यो भन्ने दुष्प्रचार गरेको प्रति आपत्ति जनाउनुभयो । उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताउनु भयो । प्रधानमन्त्री दाहालले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको बताउनु भयो । उहाँले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु सल्बलाएको बताउनु भयो ।














