राप्रपा मकवानपुरको विरोध प्रदर्शन, मन्त्री किराँतीको राजीनामा माग
६ पुस, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपुरले विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार राप्रपा मकवानपुरका कार्यबहाक अध्यक्ष सागर थापाको नेतृत्वमा हेटौंडाको सिमा चोकमा प्रर्दशन गरेको हो । बिरोध प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, सुदन किराँती राजीनामा दे, राष्ट्रवादी शक्ति एक हौं लेखिएका प्लेटकार्ड बोकका थिए । सहभागीहरुले मन्त्री किराँतीले सामाजिक सद्भाव नै विथोल्न गरी अभिव्यक्ति दिएको आरोप लगाएका थिए । बिरोध प्रदर्शनमा बोल्दै राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपानले मन्त्री किराँती नेपालको नेता हो की विश्वको नेता हो भनी प्रश्न गर्नुभयो । उहाँले मन्त्री किराँती एक मिनेट पनि पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभयो । मन्त्रीले गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिँदा पनि सरकार मौन बसेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । एकपछि अर्को गर्दै हिन्दु धर्म र संस्कार माथि आक्रमण भइरहेकोले अब राष्ट्रवादी शक्तिहरु एकहुनुपर्नेमा सचिव न्यौपानले जोड दिनुभयो ।

बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर बिरोध भइरहेको छ ।














