राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीको भिड, सास्ती खेप्दै ज्येष्ठ नागरिक
२४ जेठ, हेटौँडा । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा परिचयपत्र लिन सेवाग्राहीको भिड बढेको छ ।
आगामी आर्थिक वर्षको साउन १ गतेदेखि सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा बिहानैदेखि सेवाग्राहीको भीड हुने गरेको हो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि मकवानपुरका १० वटै स्थानीय तहका सेवाग्राही प्रशासन कार्यालय नै जानुपर्ने भएपछि अशक्त, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति समस्यामा परेका छन् । गर्मीको समयमा लामो समय सम्म लाइन बस्दापनि पालो नआएको उनीहरुको गुनासो छ ।

यता प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पालिकाहरुसँगको समन्वयमा कर्मचारीको व्यवस्थापन गरी स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्र सम्बिन्ध कार्य गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हाल तीनवटा विवरण दर्ता स्टेसन मार्फत दैनिक दुई सय जनाको परिचय पत्र सम्बन्धि कार्य हुँदै आएको छ । राष्ट्रिय परिचयपत्रको लागि दैनिक पाँच सयसम्म सेवाग्राही आउने गरेको कम्प्युटर अपरेटर आशिष पौडेलले बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट थप उपकरण सहितको दर्ता टोली माग गरिएको कम्प्युटर अपरेटर पौडेलले जानकारी दिनुभयो ।














