रोटरी क्लब मकवानपुरद्वारा हेटौंडा अस्पताललाई इसिजी मेसिन सहयोग
२० चैत्र, हेटौँडा । रोटरी क्लब अफ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई दुईवटा इको कार्डियोग्राम (इसिजि) मेसिन सहयोग गरेको छ ।
दाता संस्था ग्लोवल ग्रान्टको आर्थिक सहयोगमा ७ लाख बराबरको इसिजी मेसिन अस्पताललाई प्रदान गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी पराजुलीले बताउनुभयो । सामाजिक क्षेत्रमा सक्रिय रहेको रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पतालका निमित्त निर्देशक श्रीधर अर्याललाई मेसिन हस्तान्तरण गरेको हो । हेटौंडा अस्पतालका निमित्त निर्देशक डाक्टर अर्यालले मुटु रोगको उपचारका लागि यथाशीघ्र कार्डियो ओपीडी सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभयो । यस भन्दा अगाडी पनि अस्पताललाई प्राप्त उपकरण प्रयोगमा नआएको गुनासो आफुले पाएको बताउँदै उहाँले जनशक्ति व्यवस्थापनमा समेत लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पराजुलीले अस्पतालाई उपलब्ध गराइएका सामग्री प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, निर्वाचित अध्यक्ष अनिल अग्रवाल, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्षहरु लगायतको उपस्थिति थियो ।














