वर्तमान सरकारले ३ बुँदे राजनीतिक सहमतिलाई पालना गरेनः एटम सि
२१ मंसिर, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एटम सिले वर्तमान सरकारले ३ बुँदे राजनीतिक सहमतिलाई पालना नगरेको बताउनुभएको छ ।
पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डविरुद्ध पक्राउ पुर्जी आदेश जारी भएको विरोधमा बिहिबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै एटम सिले तत्कालिन ओली सरकारसंग भएको राजनीतिक सहमतिलाई प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । आफुहरु विरुद्धको मुद्धालाई खारेज गर्नुको सट्टा पक्राउ पुर्जी जारी गरेर दमन गर्न खोजको उहाँले बताउनुभयो । आफ्ना पार्टीका नेताहरुलाई पक्राउ गरे हतियारसहित सडक संघर्षमा उत्रिने पोलिटब्युरो सदस्य एटम सिले चेतावनी दिनुभयो । उहाँले सर्वोच्च अदालत नै भ्रष्ट र कमिशनतन्त्रको दलदलमा फसेको आरोप समेत लगाउनुभयो ।

यसैगरी पार्टीका मकवानपुर इन्चार्ज वाटर सिले नाम नै लिएर न्यायधीशलाई आदेश फिर्ता नलिए घिसारेर सडकमा ल्याउने चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । जेलमा रहेका पार्टीका कार्यकर्ताहरुलाई जेलमुक्त गरिनु पर्छ भनेर आफुहरुले कुरा उठाउँदा पनि सरकारले नसुनेको इन्चार्ज वाटर सिले बताउनुभयो । एनसेलको विषयमा विप्लवले उठाएका मुद्धा अहिले सही सावित भएको उहाँको भनाई थियो । एनसेललाई राष्ट्रियकरण नगरे आफ्नो पार्टीले कम्पनी नै कब्जा गर्ने उहाँले चेतावनी दिनुभयो ।

यसअघि पक्राउ पुर्जी आदेश खारेज गर भन्दै पार्टी कार्यालयबाट ¥याली निकालिएको थियो । उक्त ¥याली चोकीटोल, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।














