वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्टः अध्यक्ष ओली
१९ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनुभयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनुभयो । स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप समेत लगाउनुभयो । उहाँले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताउनुभयो । अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गर्नुभयो । उहाँले ऋण आवश्यक नभएकालाई बैंकहरुले नै बिना धितोमा ऋण दिने गरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले बैंकको ऋण सदुपयोग भए÷नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले देश अहिले राजनीतिक, सामाजिक र आर्थिक हिसावले अफ्ठ्यारो स्थितिमा रहेको समेत बताउनुभयो ।














