वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोडको भ्रष्टाचार, ३२ जनाबिरुद्ध मुद्दा दर्ता
२२ चैत्र, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिहीवार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनलाई प्रतिवादी बनाई आरोप पत्र दर्ता गराएको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले । ए ३३०—२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको जानकारी दिनुभयो । उहाँले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताउनु भयो । जसमा २४ जना नेपाली र ८ जना विदेशी रहेको बताउनु भयो । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गराएको उहाँले बताउनु भयो ।
सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरि मुद्दा दर्ता गरिएको छ । यसैबीच अदालतमा दर्ता भएसंगै पूर्व पर्यटनमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शाहीको सांसद पद निलम्बनमा परेको छ ।














