विपदबाट प्रभावित ४५ वटा पालिकालाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता

संवाददाता
१९ आश्विन २०८१, शनिबार १५:५१

१९ असोज, हेटौँडा । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो ।
प्रदेश सरकारले उपलब्ध गराएको रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने बताईएको छ ।
प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
बाढीपहिरोबाट धेरै क्षति पुगेको काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका लाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा दिने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*