विपद्का समयमा सञ्चारकर्मीले संवेदनशीलतालाई ध्यान दिनुपर्छः मन्त्री लामिछाने

संवाददाता
१० असार २०८२, मंगलवार १९:०८

१० असार, हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले विपद्का समयमा संवेदनशीलतालाई ध्यानमा राखेर तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सवालमा सञ्चारकर्मीसँग कार्यशालामा बोल्नुहुँदै मन्त्री लामिछानेले विपद्का समयमा सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने बताउनुभयो । घटनाको समाचार बनाउने मात्र नभई पीडामा परेकाहरूलाई सहानुभूति दिने र जनसमुदायलाई सुसूचित गराउने कार्यमा पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री लामिछानेले बागमती प्रदेशमा मात्रै मनसुनजन्य प्रकोपका कारण चालू आर्थिक वर्षमा २ सय ६६ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । प्रदेशको नीति तथा योजना आयोगले गरेको अध्ययन अनुसार बागमती प्रदेशमा १० अर्ब भन्दा बढीको भौतिक संरचनामा क्षति भएको उहाँले बताउनुभयो ।
मन्त्री लामिछानेले विपद् हेर्ने फोकल मन्त्रालय आन्तरिक मामिला भए पनि अर्थ मन्त्रालयबाट पर्याप्त बजेट नछुट्याइएकोमा असन्तुष्टि जनाउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा विपद् राहत कोषमा एक अर्ब विनियोजन गर्न आग्रह गरे पनि १० करोड मात्रै विनियोजन भएको उहाँले बताउनुभयो ।
मन्त्री लामिछानेले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति र विपद् प्रदेश व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका लागि प्रतिकार्य योजना र मनसुनजन्य विपद् प्रतिकार्य योजना २०८२ अद्यावधिक गरी स्वीकृत गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विपद् सम्भावित स्थानमा आवश्यक कार्यका लागि रकम पठाउने, गोदामघरमा उद्धार सामग्री पठाउने लगायतका कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रालयका सचिव कृष्ण बहादुर साहीको अध्यक्षतामा भएको कार्यशालामा मनसुन तयारी तथा प्रतिकार्यमाम प्रदेश सरकारको पूर्व तयारी र अवस्था, पूर्वानुमानमा आधारित पूर्व कार्य र विपद् संवेदनशिल सामाजिक सुरक्षा सम्बन्धि अवधारणा र यसको महत्व, विपद् सूचना सम्प्रेषणमा सञ्चार जगतको भूमिका र योगदान लगायतका विषयमा प्रस्तूतीकरण दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*