विभेदको अन्त्यका निम्ति समाजवाद स्थापना अनिवार्यः मन्त्री श्रेष्ठ
२६ चैत्र, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री एकालाल श्रेष्ठले सामाजिक न्याय स्थापना, समानता र विभेदको अन्त्यका निम्ति समाजवाद स्थापना अनिवार्य भएको बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको आठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जबसम्म समाजवाद प्राप्त हुँदैन तबसम्म हरेक प्रकारका विभेदको अन्त्य नहुने उल्लेख गर्नुभयो । समाजमा हुने विभिन्न खालका विभेदको अन्त्यका लागि समाजवादको विकल्प नभएको उहाँको भनाई छ ।
समाजवादको व्यवस्था गर्नका लागि नेकपा एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा बोकेको उहाँले जिकिर गर्नुृभयो । मन्त्री श्रेष्ठले नेकपा एमाले सबै तहको विभेद अन्त्यका निम्ति संघर्ष गरिरहेको पार्टी भएको दाबी समेत गर्नुभयो । नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले मिसन २०८४ मा एमाले स्पष्ट बहुमतका साथ सरकार चलाउने गरी तयारीमा लागेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले विभिन्न आन्दोलनबाट प्राप्त संविधानले नागरिकको मौलिक हक अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । देशमा आएको परिवर्तनले दलित समूदायको चेतनास्तरमा समेत वृद्धि भएको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले सामाजिक, प्रशासनिक, राजनीतिक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गर्नुभयो । सधैंभरी आरक्षणमा मात्रै सिमित नरही अब प्रतिस्पर्धामा उत्रने बेला आएको उहाँको भनाई छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरका अध्यक्ष गोविन्द विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष मनोहर पौडेल विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय पोलिट ब्यूरो सदस्य एवं मकवानपुर इन्चार्ज देवी ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।














