शासकवर्गले पहिचानवादीहरुबीच फुट ल्याउने काम गर्दैछः संयोजक महतो
२१ चैत्र, हेटौँडा । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पहिचानवादीहरु एक नभई अधिकार प्राप्त नहुने बताउनुभएको छ ।
बुधबार हेटौंडाको बुद्धचोकमा कोणसभा गर्दै संयोजक महतोले पहिचानवादीहरु छुट्टाछुट्टै लड्दा आफुहरुको शक्ति कमजोर भएको बताउनुभयो । उहाँले अहिले नेतृत्व तहमा बसेकाहरुले हक र अधिकारको लागि संघर्ष गर्नेहरुबीच फुट ल्याउने काम गरेको आरोप लगाउनुभयो । वर्तमान सरकारले एकल चिन्तनवादी सोच बोकेको समेत उहाँको भनाई छ । संयोजक महतोले राष्ट्रिय मुक्ति क्रान्ति बिना अधिकार स्थापित हुन नसक्ने बताउनुभयो ।

संयोजक महतोले आफुहरुको आन्दोलनलाई कुनै पनि तागतले परास्त गर्न नसक्ने दाबी गर्नुभयो । नदी तालाको नामबाट प्रदेशको नामाकरण गरिएकोमा उहाँको असन्तुष्टि थियो । संयोजक महतोले नश्लवादी चिन्तनको सोच भएकाहरुले नै जनतालाई अधिकार दिन नचाहेको आरोप समेत लगाउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पहिचान र अधिकारको निम्ति सबै एकजुट हुनुको विकल्प नभएको बताएका थिए ।














