शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको कार्यालय भवन शिलान्यास
२१ वैशाख, हेटौँडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको कार्यालय भवन शिलान्यास गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ स्थित सिर्जना बस्तीमा बन्न लागेको भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शुक्रबार एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको नगर विकास समितिको नाममा रहेको ८ कठ्ठा १६ धुर जग्गामा निर्देशनालयको सुविधासम्पन्न भवन बन्न लागेको हो । आफुलाई आवश्यक पर्दा पर्दे पनि प्रदेश सरकारका लागि उपमहानगरले जग्गा उपलब्ध गराएको नगर प्रमुख लामाले बताउनुभयो । हेटौंडा ८ मा नै उपमहानगरले बनाउन लागेको बसपार्क र बाल उद्यानका लागि प्रदेश सरकारको सहयोगको अपेक्षा आफूले गरेको समेत उहाँले बताउनुभयो ।

जवाफमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । नीति कार्यक्रम र बजेटको अन्तिम तयारीमा प्रदेश सरकार रहेको अवस्थामा देखिने खालका ठूला लगानीका आयोजना प्रस्ताव ल्याउन उहाँले नगर प्रमुखलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले उपमहानगरको विकास र समृद्धिको लागि प्रदेश सरकार तत्पर रहेको समेत दोहो¥याउनुभयो ।

डिपिआर अनुसार कुल २० करोड ८५ लाख लागत अनुमान गरिएको भवन निर्माणको पहिलो चरणको निर्माण कार्यका लागि १ करोड ९३ लाख ६१ हजार लागतमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो चरणमा जग र एक तला सम्मको भवन निर्माणको सम्झौता भएको निर्देशनालयका प्रमुख दिपेन्द्र सुवेदिले जानकारी दिनुभयो ।














