शिखरकोटमा आज दिउँसो ३ बजे घैटो फुटाउने प्रतियोगिता हुने

संवाददाता
११ भाद्र २०८१, मंगलवार १२:१७

११ भाद्र, हेटौँडा । श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भाद्र ११ गते साँस्कृतिक कार्यक्रम सहित घैटो फुटाउने प्रतियोगिता हुने भएको छ ।
शिखरकोट स्थित चुनिथान नजिकैको स्टेजमा साँस्कृतिक कार्यक्रम हुने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन अध्यक्ष रायमाझीले सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
यसैबीच दिउँसो ३ बजेटबाट परम्परागत घैटो फुटाउने प्रतियोगिता शुरु हुने आयोजक मध्येका शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । वि.सं. २०५४ सालबाट शुरु भएको यस प्रतियोगिताका विजयीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
यसअघि भाद्र १० गते शिखरकोटको कृष्ण मन्दिरमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । प्रदर्शनीमा २५ राधा ३५ जना कृष्णको भेषमा सहभागी थिए ।
त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रो झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुहको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।
पर्वको अवसरमा शिखरकोटमा थाहानगर क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिएका छन् भने नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*