संविधान संशोधनको विषयमा दलहरुबीच बृहत छलफल र समझदारी जरुरीः सभामुख घिमिरे

संवाददाता
१० आश्विन २०८१, बिहीबार १५:०४

१० असोज, काठमाडौँ । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलहरुबीच बृहत छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
संविधान संशोधनको आवश्यकता र औचित्यको विषयमा राजनीतिक दलहरुबीच बृहत ढंगले बहस हुनुपर्ने उहाँको भनाई छ । सभामुख घिमिरेले कुनै एउटा राजनीतिक शक्ति र बहुमतको आडमा मात्र संशोधन गर्दा भविष्यमा समस्या आउने बताउनुभयो । राजनैतिक ध्रुविकरणलाई कम गर्न छलफल र समझदारीको दायरा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान संशोधन गर्नुअघि संविधान कार्यान्वयनमा कति ध्यान दियौं भन्ने पनि ख्याल गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।सभामुख घिमिरेले संघीय सरकारले आवश्यक कानुनहरु नबनाइदिएका कारण प्रदेशहरुले काम गर्न नसकेको र त्यही कारण संघीयतामाथि प्रश्न उठिरहेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले संसदको गतिविधि, बैठक भित्रका क्रियाकलाप गुणस्तरीय हुन नसकेको बताउनुभयो । उहाँले प्रतिनिधि सभाका सदस्यहरुको कारण पनि संसदको बैठकमा छलफल गुणस्तरीय हुन नसकेको उल्लेख गर्नुभयो । दलीय राजनीतिको अस्थिरताको दाउपेचको असर संसद बैठकमा परेको उहाँले बताउनुभयो । राजनीतिको सापेक्षतामा नै संसद क्रियाशिल हुने भएकाले सरकार निर्माण र परिवर्तनको असर परेको सभामुख घिमिरेको भनाई छ ।
सभामुख घिमिरेले संसदीय समितिहरुले विधेयकमाथि राम्रोसँग छलफल गरेमा संसदको काम पनि धेरै सहज हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*