संविधान संशोधन गर्नेकुरा उठाउँदा कोही पनि तर्सिनुपर्ने पर्दैनः गृहमन्त्री लेखक
६ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।
आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान परिमार्जनको कुरा उठाउँदा कोही पनि आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुरा नरहेको बताउनु भयो ।
उहाँले संविधान स्वयंले धारा २६५ मा १० वर्षपछि समीक्षा गर् भनेको भन्दै १० वर्षको अभ्यासमा देखिएका समस्या, सवाल र जटिलतालाई सहज बनाउन संशोधन गर्नुपर्ने बताउनु भयो ।
गृहमन्त्री लेखकले राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल गरी व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने र दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय नभएको उल्लेख गर्नुभयो ।
गृहमन्त्री लेखकले वर्तमान संविधानको उपलब्धि महत्वपूर्ण रहेको र उपलब्धिको रक्षा गर्नुपर्ने बताउनु भयो ।














