संसदमा सांसद्को भुमिका प्रभावकारी हुन सकेनः प्रमुख सचेतक बर्तौला

संवाददाता
२९ बैशाख २०८१, शनिबार १९:२८

२९ वैशाख, हेटौँडा । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा सांसद्को भुमिका प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
उहाँले सांसद्हरुले संसद्को गरिमा उच्च हुने गरी भुमिका खेल्नुपर्ने बताउनुभयो । बागमती प्रदेश युवा सम्मेलन अन्तर्गत भएको राजनीति, नीति र समृद्धि छलफल कार्यक्रममा प्रमुख सचेतक बर्तौलाले संसद्को अंकगणित अनुसार कुन बेला कसको नेतृत्वमा सरकार बन्छ भन्न नसकिने बताउनुभयो । उहाँले संसद् कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भएको समेत उल्लेख गर्नुभयो । कानुन निर्माणमा सांसद्हरुको भुमिका कमजोर रहेको उहाँको भनाई छ । प्रमुख सचेतक बर्तौलाले सरकारले बिजनेश नदिँदा कानुन निर्माणको प्रक्रियालाई अघि बढाउन नसकिने अवस्था रहेको जिकिर गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद्को अंकगणितले सत्तापक्ष र प्रतिपक्ष जसलाई बनाए पनि स्थिर सरकार बनाउने जिम्मा युवाहरुको भएको बताउनुभयो । सचेतक थिङले देशलाई अनिर्णयको बन्दीबाट जोगाउन पनि राजनीतिक निकास दिन जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले युवाहरुको भविष्य स्वदेशमै सुनिश्चित गर्न पनि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले संविधान निर्माणमा गर्दा गरेको त्रुटिहरुको भारी अहिले भोग्नुपरेको बताउनुभयो । संविधान निर्माणको बेला तत्कालिन माओवादीले राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्तावमा अन्य राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा नै संविधान त्रुटि पूर्ण भएको उहाँको भनाई छ । सांसद् सापकोटाले मिश्रित निर्वाचन प्रणालीको कारण दलहरुले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको जिकिर गर्नुभयो ।
सांसद् सापकोटाले संसद्मा यु्वाहरुको विषयमा बहस गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*