सडकको नाममा राजनीति नगरौँः मुख्यमन्त्री जम्कट्टेल
२१ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सडकका नाममा राजनीति नगर्न उद्योग वाणिज्य संघ मकवानपुरलाई आग्रह गर्नुभएको छ ।
शनिवार उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले आफू व्यक्तिगत रुपमा सडक भत्काउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । आफूले व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको बताउँदै मुख्यमन्त्रीले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्रगति लिने बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योगको क्षेत्रमा तालिम, कृषि क्षेत्रमा काम र उत्पादनमूलक सीप मात्र दिन सक्ने तर ठूला औधोगिक क्षेत्रको दायरा प्रदेश सरकासँग नभएको बताउनुभयो । उहाँले हस्तकला र घरेलु उद्योगलाई अगाडि बढाउन, उद्योग ग्राम निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो । संसारका धेरै मुलुकहरुले नीति बनाउनु र लगानी गर्नुअघि आन्तरिक र वाह्य उत्पादन र निर्यातको आकलन गरेर मात्र उद्योग सुरु गरिने गरेको भएपनि नेपालमा भने त्यस्तो नभएको उहाँको भनाई थियो ।
मुख्यमन्त्री जम्कट्टेलले सरकार र निजी क्षेत्रबाट कृषि, पर्यटनपछि व्यापार–व्यवसाय वृद्धि गर्न युवा जनशक्तिलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।














