सडक भासिँदा हराएको गाडी खोजी गर्न सरोकारवालाको बैठक बस्दै
२१ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा शुक्रबार साँझदेखि हराएको गाडी अझै फेला परेको छैन ।
गाडी खोजीलाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय लिन उपमहानगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सवारीधनीसहितको बैठक बस्दै छ । ना ४ च ४८३३ नम्बरको उक्त बोलेरो गाडी माछाको दाना लिन हेटौंडा जाँदै गर्दा भित्री कच्चि सडकमा अचानक माटो भासिएर हराएको थियो ।
माछापालनका लागि निर्माण गरिएको पोखरी र पानीको बोरिङ नजिकै भएकाले भूगर्भीय संरचना कमजोर भएर जमिन भासिएको अनुमान छ । शनिबार दिनभर बाँस र रड गाडेर गाडी खोज्ने प्रयास गरेपनि गाडीको अवस्था थाहा हुन नसकेको स्थानीयले बताएका छन् । घटनास्थल मानवीय हिसाबले जोखिमयुक्त देखिएकाले उक्त स्थान वरपर जम्मा नहुन प्रहरीले अनुरोध गरेको छ ।














