सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
११ असोज, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाएँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरुमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ ।
नेकपा एमालेको तर्फबाट केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुबारे घच्घच्याएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले सरकारको तर्फबाट नागरिकलाई सेवा पु¥याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताउनु भयो ।
यता ज्ञापनपत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले महान पर्वहरु जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । दशैँ र तिहारमा संघीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरुबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो ।
एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरुका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरु स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।














