समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी
२२ चैत्र, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निरन्तर दिने ब्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुग्ध निरन्तर बिक्री हुने ब्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
संघका अध्यक्ष हरिप्रसाद कडेंलले मूल्य भुक्तानी प्रति सम्बद्ध पक्ष गम्भिर नभएमा आन्दोलन नै गर्नुपर्ने स्थिति सृजना भएको बताउनुभयो । उहाँले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीहरु बिरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएकाले सम्पूर्ण दुग्ध उत्पादक किसानहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गर्नुभयो ।
संघले उद्योगीहरुसंग करिव ५० करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको र सदस्य संस्थाहरु मार्फत कृषकहरुलाई करिब ४८ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको मकवानपुर जिल्ला सहकारी संघ लि. का ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।















