सरकारले भ्रष्टाचार नियन्त्रणमा अझै प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष नेपाल

संवाददाता
१४ माघ २०८०, आईतवार १७:१८

१४ माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रिय परिषद् बैठकको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन। देशको अर्थतन्त्रलाई सुदृढ बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिनुभयो । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले जलवायु परिवर्तनले पारेका असरहरुलाई न्युनिकरण गर्नका लागि सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
यसैगरी अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको दाबी समेत गर्नुभयो । उहाँले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताउनु भयो । अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने दाबी समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*