सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफलः अध्यक्ष ओली
८ फागुन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै अध्यक्ष ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो । पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहो¥याउनु भयो । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताउनु भयो ।
अध्यक्ष ओलीले टिआरसी विधेयक पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताउनुभयो । उहाँले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री र काँग्रेस सभापतिको पटकपटकको प्रश्तावमा सो विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गर्नुभयो ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराउनु भयो ।














