सही काम गर्न नसके चुप लागेर घरमै बस्न नेता कोइरालाको सुझाव
१६ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिनुभयो । उहाँले दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने बताउनुभयो । पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको बारेमा छलफल हुने सोचे पनि आफ्नो बारेमा छलफल भएको भन्दै नेता कोइरालाले आपत्ति जनाउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नजानुभएको आरोप लगाउनु भयो ।
सांसद कोईरालाले एमालेको जुलुस भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरुमा आएको नैराश्यताको परिणाम भएको बताउनु भयो । उहाँले अहिलेका नेताहरुको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताउनु भयो । उहाँले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने उल्लेख गर्नुभयो । त्यस्तो व्यक्तिले राजनीति गर्न नहुने समेत उहाँले बताउनुभयो ।
सांसद कोईरालाले काँग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताउनु भयो । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने बताउनु भयो ।














