सांसद सिंहद्वारा आफ्नो एक वर्षको तलबमा थप गरी हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण
२२ श्रावण, हेटौँडा । मकवानपुरको क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले एक वर्षको तलबमा थप गरी हेटौंडा सामु्दायिक आँखा अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।
सांसद सिंहले अस्पतालमा आयोजित एक कार्यक्रमका बिच तिलगंगा सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्दुक रुइतलाई ९ लाख ९९ सय हजार ९ सय ९९ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सांसद सिंहले आफूले पाउने एक वर्षको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार थप गरी अस्पताललाई प्रदान गर्नु भएको हो । निर्वाचनको समयमा नै जनताको करको पैसा आफूले नलिइ तिलगंगा आँखा अस्पताललाई सहयोग गर्ने घोषणा गर्नुभएका सिंहले जनतालाई साक्षी राखेर गरेको बाचा पूरा भएको बताउनुभयो । सम्बोधनका क्रममा अधिकांश समय सन्दुक रुइतको प्रशसामा खर्चेका सांसद सिंहले रुइतबाट सबैले पाठ सिक्न जरुरी रहेको बताउनुभयो ।
तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले सांसद सिंहबाट प्राप्त रकम सिमान्तकृत जनतामा पु¥उने कोसिस रहने प्रतिबद्धता जनाउनुभयो ।
अस्पतालमा दैनिक ३ देखि ४ सय बिरामी आउने गरेको अस्पतालका प्रमुख सुनिल थकालीले जानकारी गराउनुभयो । तिलगंगा आँखा अस्पतालले हेटौंडा–११ बस्तिपुरमा आँखाको लेन्स उत्पादन गर्ने फ्याक्ट्री निर्माण गरिरहेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।














