साउन ५ गते हेटौंडामा कोरा साइकल महोत्सव हुँदै
२ श्रावण, हेटौँडा । जिल्ला साईकल संघसँगको सहकार्यमा हेटौंडा राइडर्स क्लवले यही साउन ५ गते हेटौंडामा कोरा साइकल महोत्सव आयोजना गर्ने भएको छ ।
सातौं संस्करणको हेटौंडा–कोरा २०२४ साउन ५ गते आयोजन गर्न लागिएको बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । साइकल महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताउनुभयो । ५० किमि दूरीको साइकल ¥याली मार्फत् नगरका प्रमुख धार्मिक तीर्थस्थलको परिक्रमा गरिनेछ । अध्यक्ष ताम्राकारका अनुसार हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने ¥याली हेटौंडा बजार, सानो पोखरा, वनसखण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी, हर्नामाडी, हटिया, चौघडा, पिप्ले हुँदै बुद्धचोक स्थित लक्ष्मण साईकल स्टोर्समा पुगेर समापन हुने छ ।
करीब २ सय ५० राइडर्स सहभागी हुने ¥यालीमा मकवानपुर आसपास छिमेकी जिल्लाका राइडरहरु पनि सहभागि हुने बताइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि करीब ५ लाख लाग्ने आयोजकको अनुमान छ । क्लबले सन् २०१८ देखि हेटौंडामा साईकल महोत्सव आयोजना गर्दै आएको छ । नगरलाई साईकलसँग जोड्न र स्थानीय धार्मिक पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।














