साना देशहरुमाथि बढेको चुनौति र जोखिमबारे प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त
२१ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरुमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताउनुभएको छ ।
मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको सिलसिलामा एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रवचन दिनुहुँदै प्रधानमन्त्री ओलीले साना देशहरुमाथि बढेको चुनौति र जोखिमबारे चिन्ता व्यक्त गर्नुभएको हो । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले देशलाई जोखिममा पारेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा बढेको हतियारको प्रयोगले मानव जीवन र मानवता नै चुनौतिमा परेको जिकिर गर्नुभयो । अहिले साना र जोखिममा रहेका देशको दुःखको आवाज सुन्ने कोही नभएको समेत उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले भोगिरहेको जलवायु संकटबारे अहिले नै लड्न नसके देशका नागरिकहरु झनै गरिबी र दुःखमा धकेलिने भएकाले विश्व समुदायलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्दै समृद्धि हाँसिल गर्न अगाडि सारेको कार्यक्रम र रणनीति एक देशको लागि मात्र नभएको बताउनुभयो । उहाँले सम्पूर्ण विश्वलाई नै शान्ति सहितको विकासको अवधारणा अगाडि सारेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१ औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा समेत गर्नुभयो ।
शिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीको संख्या उल्लेख्य छ । जम्मा विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या पाँचौं स्थानमा रहेको छ । एआइटीबाट करिव १ हजार ७ सय बढी नेपालीले अध्ययन गरिसकेका छन् ।














