सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन प्रशासन प्रतिबद्ध छः प्रजिअ चिलुवाल
२४ जेठ, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले गुणस्तरीय सेवा र सुरक्षा प्रशासनको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकार भेटघाट गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी चिलुवालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लाका सम्पूर्ण सरकारी निकायबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाई गुनासो रहित बनाउन प्रशासन लागिपरेको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी चिलुवालले हरेक नागरिकले स्वतन्त्रतापूर्वक बाच्न र बोल्न पाउने अधिकारको सुनिश्चिता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजमा अराजक गतिविधि गर्नेहरुलाई कानुन बमोजिम कारवाही गर्न प्रशासन पछि नहट्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रमुख जिल्ला अधिकारी चिलुवालले मनसुनको पूर्व तयारी र प्रतिकार्यको काममा प्रशासन नचुक्ने स्पष्ट पार्नुभयो । उहाँले विपद्बाट जोखिम न्युनिकरणको लागि पालिकाहरुसंग समन्वय भइरहेको जानकारी दिनुभयो । उच्च जोखिममा रहेको बासिन्दाहरुको पहिचान गरी सुरक्षित स्थानमा लैजाने तयारीमा पनि प्रशासन रहेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी चिलुवालले सही सुचनाहरु मात्र सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।














