सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वास भएकाले काँग्रेससँगको गठबन्धन भत्कियोः प्रधानमन्त्री दाहाल
२४ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभएपनि व्यक्तिगत भन्दापनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरित लाग्दापनि कारबाही नभएको बताउनु भयो । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्री दाहालले काँग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनुपनि सम्बन्ध टुट्नुको कारण भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले व्यक्तिका रुपमा काँग्रेसले आफूलाई माया गरेको भएपनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताउनु भयो । प्रधानमन्त्री उहाँले आफूले राजनीतिक बेइमानी नगरेको पनि दाबी गर्नुभयो । उहाँले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताउनु भयो । उहाँले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको बताउनु भयो ।














