सैद्धान्तिक शिक्षा प्रणालीले देशको समृद्धि हुन सक्दैनः मुख्यमन्त्री जम्कट्टेल
२८ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वर्तमान शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले अहिलेको शिक्षा प्रणाली व्यवहारिक नभएको बताउनुभयो । उहाँले सैद्धान्तिक शिक्षा प्रणालीले देशको समृद्धि हुन नसक्ने जिकिर गर्नुभयो । बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सम्बोधन गर्नुहुँदै उहाँले सिटिइभीटीले पढाउने कोर्ष अब माध्यमिक तहमा ल्याउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले कोटा प्रणालीको आधारमा प्राविधिक शिक्षा पढ्न पाउने प्रवृत्तिलाई हटाउने उल्लेख गर्नुभयो । प्राविधिक शिक्षामा रहेको सम्पूर्ण कोटा प्रणालीलाई खारेज गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले उद्यमशीलताको पहिलो आधार नै कृषि क्षेत्र भएको बताउनुभयो । उहाँले कृषिमा निजी क्षेत्रहरुले लगानी नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । कृषि पेशालाई उद्यमशीलतामा परिणत गर्नपनि व्यवसायीकरण जरुरी रहेको उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले आफ्नो मुलुकको आधार हेरेर व्यवसाय सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले पढेका शिक्षित युवाहरुलाई कषि पेशामा लाग्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले देश बनाउन सम्पूर्ण युवाहरु एकजुट हुनुपर्ने बताएका थिए । यसअघि मुख्यमन्त्री, मन्त्री, सांसद्हरुको उपस्थितिमा प्रभातफेरी समेत निकालिएको थियो । हेटौंडाको बुद्धचोकबाट निकालिएको प्रभातफेरी सिमाचोक, मेनरोड हुँदै कार्यक्रम स्थल रोयल पार्टी प्यालेशमा पुगेको थियो ।














