स्थानीय तह बलियो भएमात्र संघीयता बलियो हुन्छः मन्त्री लामा
१८ मंसिर, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले संघीयतालाई कमजोर हुन नदिन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले स्थानिय तह बलियो भए संघियता पनि बलियो हुने धारणा राख्नुभयो । मन्त्री लामाले तीनै तहले आ—आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व स्थिति पैदा हुने आशंका व्यक्त गर्नुभयोे । उहाँले यस विषयमा सरोकारवाला पक्ष सबै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयोे । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेकोमा मन्त्री लामाको जोड थियो ।

मन्त्री लामाले देशमा विद्यमान आर्थिक तरलताको असर प्रदेश र स्थानीय तहमा समेत परेको बताउनुभयो । बागमती प्रदेशको उत्पादकत्व क्षमता कमजोर रहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । देशकै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने प्रदेशको उत्पादकत्व कमजोर हुनु दुखद पक्ष रहेको उहाँको भनाइ छ । मन्त्री लामाले योजनाको सही छनौट र प्राथमीकरण हुनुपर्ने, सबै तहको समन्वयकारी भूमिका हुनुपर्ने, अनुसन्धानमा आधारित नीति हुनुपर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान गरिएको थियो ।














