स्थिरता र सुशासनको लागि संविधानको संशोधन जरुरीः अध्यक्ष यादव

संवाददाता
२४ माघ २०८०, बुधबार १९:१६

२४ माघ, हेटौँडा । पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान नै गलत भएको बताउनुभएको छ ।
अध्यक्ष यादवले वर्तमान संविधानले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने जिकिर गर्नुभयो । पार्टीको हेटौंडा उपमहानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान संशोधन नगरिए संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने बताउनुभयो । संविधानमा उल्लेखित व्यवस्थालाई परिमार्जन गरेर अगाडि बढेमात्र मुलुकको आर्थिक विकास सम्भव रहेको उहाँको भनाई थियो । अध्यक्ष यादवले जनताले प्रत्यक्ष रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको बताउनुभयो । मुलुकमा स्थिरता, सुशासन, संघीयताको कार्यान्वयनको लागि पनि संविधानको संशोधन जरुरी नै भइसकेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष यादवले आफ्नो पार्टी जनताका सरोकारका विषयहरुमा सदन देखि सडकसम्म संघर्ष गर्न पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


अध्यक्ष यादवले संसदीय प्रणाली नै नेपालमा असफल भइसकेको दाबी गर्नुभयो । वर्तमान प्रणालीबाट आर्थिक विकास र समृद्धि सम्भव नभएको उहाँको भनाई थियो । अध्यक्ष यादवले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्था नै अहिलेको प्रणालीको विकल्प भएको बताउनुभयो । वर्तमान निर्वाचन प्रणाली महङ्गो भएको पनि उहाँले बताउनुभयो । अध्यक्ष यादवले मुलुकको लागि केही गर्छु भन्ने जनताले चुनावनै लड्न नसक्ने जिकिर गर्नुभयो । उहाँले मुुलुकमा अझै पनि सुशासनको स्थापना हुन नसकेको बताउनुभयो । सुशासनको अभावमा भ्रष्टतन्त्र र लुटतन्त्र फैलिएको उहाँको भनाई थियो ।
अध्यक्ष यादवले निजीकरण र उदारीकरणको नाममा धेरै उद्योगहरु बन्द हुन पुगेको बताउनुभयो । पार्टीको मकवानपुर अध्यक्ष सोमबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा छविलाल वाईवाको नेतृत्वमा नगर कमिटी समेत घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*