हराउँदै गएको लोकभाकाको संरक्षण गरिंदै
८ असार, हेटौँडा । लोकभाकाको संरक्षण र प्रर्वद्धन गर्ने उद्धेश्यले स्थापना गरिएको लोक संगीत चौतारीले वडा वडामा प्रत्यक्ष लोक दोहोरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हेटौंडा ६ चौघडाबाट सुरु गरिएको कार्यक्रम शनिबार हेटौंडा ११ डाङडुङेमा प्रत्यक्ष लोक दोहोरी सञ्चालन गरेको छ । आफ्नै प्रचारप्रसारका लागि वडा वडामा प्रत्यक्ष लोक दोहोरी सञ्चालन गरेको आयोजकले बताएको छ । कार्यक्रममा सयौं स्थानीयको सहभागिता रहेको थियो । हराउँदै गएको लोक भाकाको संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको लोक चौतारी मकवानपुरका प्रवक्ता जयराम खनालले बताउनुभयो । अब हरेक शनिबार हेटौंडा २ वनसखण्डीमा प्रत्यक्ष लोकदोहोरी कार्यक्रम राख्ने तयारी समेत भएको उहाँले जानकारी दिनुभयो ।

यस्ता कार्यक्रमले पुराना सर्जकको सम्मान हुनुका साथै नयाँ कलाकारले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गर्ने उहाँले बताउनुभयो । लोक चौतारीमा ८० भन्दा बढी लोक दोहोरी गाउने कलाकार आबद्ध रहेका छन् । कलाकारलाई प्रत्यक्ष लोक दोहोरीका बेला अपनाउनुपर्ने नियम, शब्द चयन लगायतका बारेमा जानकारी समेत प्रदान गर्ने लोक संगीत चौतारीको योजना रहेको छ ।















