हेटौंडाको बसपार्कमा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने
२६ मंसिर, हेटौँडा । यही पौष २ र ३ गते हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता, २०८० आयोजना हुने भएको छ ।
मंगलबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादनको प्रवद्र्धनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा कार्यक्रम हुन लागेको जानकारी गराइएको हो । प्रदर्शनीमा उपमहानगरका १९ वटै वडाका किसान तथा व्यवसायीहरुको उत्पादन प्रदर्शनी एवं बिक्रिवितरण हुने वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । मेलामा घरेलु उत्पादनका ३० वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ती स्टल निशुल्क उपलब्ध गराइनेछ ।

स्थानीय उत्पादनको प्रबद्र्धन, बजारीकरण, स्वरोजगार श्रृजनामा प्रदर्शनीले मद्दत पु¥याउने वडा अध्यक्ष लामाको विश्वास छ । साथै उक्त अवसरमा स्थानीय जातजातीका भेषभुषा झल्कने, संस्कृती संरक्षणमा सहयोग पुराउने उद्देश्यले कला संस्कृति झल्कने नृत्य प्रतियोगिता समेत आयोजना हुने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५०, ३५ र २० हजार नगद पुरस्कारका साथै प्रशंसापत्र समेत प्राप्त गर्नेछन् । वडा कार्यालयको आयोजनामा हुने कार्यक्रमलाई टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास संस्था समन्वय समिति, उद्योग वाणिज्य संघ, जाल्पादेवी महिला उद्यमीकेन्द्र, स्थानीय क्लब, आमा समूह, विद्यालय लगायतको सहकार्य रहेको छ । कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयले ५ लाख बजेट समेत विनियोजन गरेको छ ।














