हेटौंडामा एक वर्षे प्राथमिक शिक्षक तालिम सञ्चालन हुने
२६ असार, हेटौँडा । बालकेन्द्रित शिक्षण गर्न सक्ने दक्ष शिक्षक तयार पार्ने उद्देश्यले हेटौंडा–४, स्थित नवोदय इनोभेसन सेन्टरले एक वर्षे प्राथमिक शिक्षक तालिम सञ्चालन गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै श्रावण १६ गतेदेखि सञ्चालन हुने तालिमका बारेमा जानकारी प्रदान गरिएको हो । १ वर्षे प्राथमिक शिक्षक तालिममा आधारभूत तहका शिक्षकका साथै कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरू समेत सहभागी हुन सक्ने तालिम कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटीले बताउनुभयो । तालिममा भाषा साहित्य शिक्षण, विज्ञान शिक्षण, सामाजिक अध्ययन शिक्षण, गणित शिक्षण, शारीरिक शिक्षा शिक्षण, सङ्गीत र कला शिक्षण , नृत्य शिक्षण र बालबालिकाको समग्र विकास लगायतका विषयवस्तु समावेश गरिएका छन् ।
साथै, नियमित कक्षा अवलोकन, शिक्षण अभ्यासको अवसर, आवश्यक पृष्ठपोषण लगायतका कार्य समेत हुने बताइएको छ । बिहान र बेलुका दुई सिफ्टमा सञ्चालन हुने तालिममा २४÷२४ जनालाई समावेश गराइने बताइएको छ । तालिमका लागि आवश्यक सहायक सामग्री सहित मासिक ५ हजार ५ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । यस प्रशिक्षण मार्फत् प्रभावकारी शिक्षकको खोजीमा रहेका विद्यालय, गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकार भएका बालबालिका लाभान्वित हुने विश्वास लिइएको छ ।
शैक्षिक रूपान्तरणका लागि भन्दै शैक्षिक क्षेत्रका व्यक्तित्वहरूले नवोदय इनोभेसन सेन्टर स्थापना गरेका हुन् । यस सेन्टरले १० वटा विद्यालयका कक्षाकोठाहरु परिवर्तन गर्न लगिपर्नुका साथै हेटौँडामा रहेका श्रमिक मावि र मकवानपुर वाल विद्या सदनमा मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेको छ ।














