हेटौंडामा दुई कल्भर्ट पुलको उद्घाटन
१० वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको भित्री सडक खण्ड हेटौंडा–फापरबारी सडक अन्तर्गत दुई स्थानमा निर्माण सम्पन्न भएका कल्भर्ट पुलहरूको उद्घाटन गरिएको छ ।
वर्षायाममा खहरेको भेलले आवतजावतमा सास्ती भोग्दै आएका स्थानीय वासीका पुल निर्माण सम्पन्न भएसँगै राहत महसुस गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ६ र ७ जोड्ने हरियाली क्षेत्र तथा वडा नं. ८ को ऊँ नगर खहरे क्षेत्रमा निर्माण गरिएका दुईवटै कल्भर्ट पुलको नगर प्रमुख मीनाकुमारी लामा उपप्रमुख राजेश बानियाँ तथा सम्बन्धित वडाका अध्यक्ष र सदस्यहरूको उपस्थितिमा उद्घाटन गरिएको हो ।
वडा नं. ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल बागमती प्रदेश सरकारको १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । यस्तै, वडा नं. ८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९ सय ८६ रुपैयाँको लागतमा सम्पन्न भएको बताइएको छ । पुल निर्माण कार्य तोकिएको समयमै सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले भौतिक पूर्वाधारको सुदृढीकरणले मात्र जीवनस्तरमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । हेटौंडाको भित्री सडक सञ्जाललाई थप व्यवस्थित बनाउने उहाँको प्रतिबद्धता छ ।














