हेटौंडामा ३ दिन सडक खाना महोत्सव हुने
५ पुस, हेटौँडा । हेटौंडामा ४ वर्षपछि पुनः खाना महोत्सव हुने भएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै होटल एशोसिएसन अफ मकवानपुरले महोत्सव बारे जानकारी दिएको हो । सडकमा जाउ, सडकमै खाउ र सडकमै रमाउँ भन्ने मुल नारा सहित यही पुस १३, १४ र १५ गते हेटौंडा ४ स्थित हुप्रामा महोत्सव गर्न लागिएको हेटौंडा एशोसिएसन अफ मकवानपुरका कार्यवहाक अध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिनुभयो । कोरोना महामारी र आर्थिक अभावको कारण २०७६ साल पछि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । मेनरोडमा अत्याधिक सवारी चाप बढेको कारण हुप्रामा महोत्सव गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने आयोजकले दाबी गरेको छ । महोत्सवमा ४० वटा स्टल रहने र प्रत्येक स्टलको भाडा ७ हजार ५ सय तोकिएको समेत कार्यवहाक अध्यक्ष महर्जनले बताउनुभयो ।














