हेटौंडा–काठमाडौं आवातजावत गर्ने टाटासुमोहरुको यान्त्रिक परिक्षण
२२ चैत्र, हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौंडा – भैसे – भिमफेदी – काठमाडौ सडकखण्डमा चल्ने यात्रुवाहक टाटा सुमोहरुको यान्त्रिक परिक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर–२ भैसेमा यात्रुबाहक टाटा सुमोहरुको यान्त्रिक परिक्षण गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय सवारी शाखाबाट खटिएका मेकानिकल टेक्निसियन र अटो मोबाइल्स सहितको प्रहरी टोलिले सुमोहरुको यान्त्रिक परिक्षण गरेका थिए । ७९ वटा सवारि साधनहरुको यान्त्रिक परिक्षण गर्दा २४ वटा सवारी साधनहरुको ब्रेक, क्लच, टायर, लाईट र ईन्जिनमा विभिन्न समस्या देखिएको थियो ।

हेटौंडा – काठमाडौ आवतजावत गर्ने छोटो दुरिको यो मार्गमा दैनिक ५ सय भन्दा बढी टाटासुमोहरु चल्ने गरेका छन् । सवारी साधनको यान्त्रिक परिक्षण नगराई सवारी चलाउदा दुर्घटनाको जोखिम बढ्ने भएकाले दुर्घटनाको जोमिख न्यूनीकरण गर्न सडकमै यान्त्रिक परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिनुभयो । मकवानपुरमा यस आर्थिक वर्षको हालसम्ममा भएका एक सय ५९ वटा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् भने ७५ जना गम्भिर घाईते भएको प्रहरीको तथ्याङक छ ।














