हेटौंडा रनको उपाधि काठमाडौंका मुकेश पाललाई
१८ फागुन, हेटौँडा । खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिताको उपाधी काठमाडौंका धावक मुकेश पालले जित्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा शुक्रबार बिहान भएको ५ किलोमिटर दौडको उपाधि पालले जित्नुभएको हो । विजेता पालले १५ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । १५ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै जुम्लाका दुर्गा बहादुर बुढा दोस्रो तथा काठमाडौंका सञ्जय श्रेष्ठ तेस्रो भएका छन् । श्रेष्ठले तोकिएको दूरी पार गर्न १५ मिनेट ३० सेकेन्ड लगाउनुभएको थियो । प्रतियोगितामा टंक कार्की र नागेश्वर अयरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, सन्त्वना पुरस्कारतर्फ नगद १०÷१० हजार प्राप्त गरेका छन् । प्रतियोगिताका विजयीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बाँनिया प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाई लगायतले नगदसहित प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा १८ जिल्लाका ९२ जना धावकले सहभागिता जनाएका थिए । हेटौँडाको बुद्धचोकबाट सुरु भएको दौड नगरको विभिन्न भाग परिक्रमा गरी पुनः बुद्धचोकमै आएर समापन भएको थियो । प्रतियोगितामा ज्येष्ठ धावक हेटौंडा–२ का ६९ बर्षिय प्रेमजी श्रेष्ठलाई सम्मान समेत गरीएको थियो । विगतका वर्षहरुमा जिल्ला स्तरीय प्रतियोगितामा सिमित रहेको हेटौंडा रनलाई चालु बर्षबाट राष्ट्रिय प्रतियोगिताको रुपमा सञ्चालन गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिनुभयो । यससँगै समितिले आगामी दिनमा मेयर कप फुटबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।














