हेटौंडा वडा नं.७ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

संवाददाता
१ भाद्र २०८१, शनिबार १८:२८

१ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं.७ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरको तेस्रो बालमैत्री वडा घोषणा गरिएको हो । यस वडाले ५१ वटा सुचकलाई पार गर्दै तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको वडा अध्यक्ष दामोदर गौतमले बताउनुभयो । यस वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सूचकहरुमध्ये ४६ वटा सूचकहरु सतप्रतिशत र बाँकी सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा हासिल गरेको वडा अध्यक्ष गौतमले बताउनुभयो । यस वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९८ बालबालिका रहेका छन् । १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेका उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले बालमैत्री घोषणाको दिगोपनाका लागि लगानी योजना र पञ्चवर्षे रणनीतिक योजना दस्तावेज तयार पारिएको बताउनुभयो । निकट समयमा नै उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको बताउनुभयो । क्रमैसँग १९ वटै वडाहरु बालमैत्री घोषणाको क्रममा रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा एसईई र कक्षा १२को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटनका अवसरमा बौद्धिक अपांगता भएका बालबालिकाले सास्कृतिक प्रस्तूति दिएका थिए ।
यसअघि वडा कार्यालयको प्राङ्गणबाट बाजागाजा र बृहत झाँकी सहितको ¥यालीले वडा परिक्रमा गरी कार्यक्रम स्थल नवज्योती माध्यामिक विद्यालयको खेलमैदान पुगेको थियो । यसअघि वडा नम्बर २ र ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो कार्यक्रममा उपप्रमुख राजेश बाँनया, महिला बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछाने, जिल्ला समन्वय अधिकारी, वडा अध्यक्षहरु लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*