हेटौंडा वडा नं. ९ को कार्यालय भवनको उद्घाटन
२८ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नंं. ९ को कार्यालय भवन उद्घाटन गरिएको छ ।
६७ लाख बजेटमा निर्माण गरिएको ६ कोठे भवनको बुधबार उपमहानगरकी मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानिंयाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मेयर लामाले भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले दिन निर्देशन दिनुभयो । उपमहानगरले सम्पूर्ण वडा कार्यालयको भवन निर्माण गर्ने अभियान थालेको उहाँले बताउनुभयो । नागरिकलाई आत्मसात् गरेर वडा कार्यालयले जिम्मेवारी पूर्ण ढंगले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा उपमेयर राजेश बानिंयाले नवनिर्मित भवनबाट जनताले विगतको भन्दा गुणस्तरीय सेवा पाउनेमा विश्वास व्यक्त गर्नुभयो । ९ नं. वडाले विकासमा फड्को मारेको समेत उहाँले जिकिर गर्नुभयो ।

नवनिर्मित भवनबाट अब सहज सेवा प्रवाह गर्न सकिने वडा अध्यक्ष सुकराम केसीले बताउनुभयो । कार्यक्रममा विभिन्न निर्माण कम्पनी तथा उपभोक्ता समितिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित वडा अध्यक्षहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।














