हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण
३० जेठ, हेटौँडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लि.को नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गर्नुभएको छ ।
जेठ २४ गते मन्त्रीपरिषद् बैठकबाट नियुक्त हुनुभएका भण्डारीले बुधबार उद्योगमा पुगी पदभार ग्रहण गर्नुभएको हो । तत्कालिन अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछि रिक्त रहेको अध्यक्ष पदमा भण्डारी नियुक्त हुनुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष भण्डारीले उद्योगको नाजुक र चुनौतीपूर्ण अवस्थालाई सुधार गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । नेतृत्वले सुम्पेको जिम्मेवारीलाई पुरा गर्ने गरी दीर्घकालिन र अल्पकालिन सोच बनाएर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सकारात्मक सोचका साथ उद्योगको उन्नति र प्रगतिमा लाग्नुपर्नेमा अध्यक्ष भण्डारीले जोड दिनुभयो ।
कार्यक्रममा उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले उद्योगको वस्तुस्थितीको बारेमा जानकारी गराउनुभएको थियो । उद्योग पछिल्लो ४ वर्षदेखि निरन्तर घाटामा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उद्योग सञ्चालक समिति सदस्य दिनेश कुमार साहीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योगका पूर्व अध्यक्ष एवं नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, संविधानसभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका पूर्व सभापति रघुनाथ खुलाल, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाई लगायतको आतिथ्यता थियो ।














