हेटौंडा सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारीको आन्दोलन स्थगित
९ असार, हेटौँडा । हेटौडा सिमेन्ट उद्योग प्रसाशानबाट असार मसान्त सम्ममा उपदान बापतको रकम भुक्तानी दिने आश्वासन पाएसँगै हेटौंडा सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।
अवकाश पाएको दुई वर्ष बित्दा समेत उपदान रकम नपाएको भन्दै उद्योगका पूर्वकर्मचारीले चैत्र १५ गतेदेखि उद्योगको मुल गेटमै धर्नामा दिएका थिए । पूर्वकर्मचारीको मागका विषयमा उद्योग प्रशासन र आन्दोलनरत कर्मचारीबीच शुक्रबार वार्ता भएको थियो । उनीहरुलाई भुक्तानी दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले सरोकार वाला निकायसँगको पहलमा असार मसान्त सम्ममा समस्या समाधान गर्ने उद्योग प्रशासनले प्रतिबद्धता जनाएको छ ।
उद्योगले २८ जना कर्मचारीको उपदान र औषधि उपचार खर्चवापत १८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । समयसिम भित्र रकम प्राप्त नगरे अझै सशक्त आन्दोलन गर्ने पूर्व कर्मचारीले चेतावनी दिएका छन् ।














