१० नम्बर वडाले सफा १० नं वडा अभियान सुरु गर्ने

संवाददाता
१५ चैत्र २०८०, बिहीबार १९:२५

१५ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले सफा १० नं वडा अभियान सुरु गर्ने भएको छ ।
शुक्रबारदेखि सरसफाई अभियान सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । नेपालको राजधानी काठमाडौंको समेत राजधानी हेटौंडालाई सफा सुन्दर बनाउन अभियान थालिएको १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । “सफा, सुन्दर, समृद्ध हेटौंडा १०” अवधारणा लिएर उपमहानगरकै गौरव गर्न लायक वातावरण मैत्री नमूना वडाका रुपमा पहिचान स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अभियान अन्तर्गत वडा भित्र पर्ने सार्वजनिक स्थल सडक लगायतका क्षेत्रमा टोल विकास संस्था, क्लब, आमा समूह लगायतका संघसंस्थाको संयोजनमा नियमित सरसफाई गरिने छ । वडा कार्यालयको एकल प्रयासले सफा वडा अभियान सम्भव नहुने बताउँदै वडा अध्यक्ष लामाले वडा बासिलाई अभियानमा साथ दिन आग्रह समेत गर्नुभयो । वडा सरसफाईमा सबै जिम्मेवार भएर लाग्न आग्रह गर्दै वडा अध्यक्ष तामाङले जथाभावी फोहोर गरेमा कानुन अनुसार कार्वाही समेत गरिने चेतावनी दिनुभयो ।
यसैबीच, हेटौंडा १० भित्र रहेका शैक्षिक संस्थाहरुको प्रोफाइल तयार पारिने भएको छ । वडा अध्यक्ष तामाङको संयोजकत्वमा गठित शैक्षिक सुधार समितिले वडाको शैक्षिक सुधारका निम्ति प्रोफाइल तयार पार्ने लगायत १७ बुद्धे कदमहरु लिएको हो। आगामी आर्थिक वर्ष देखि सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकलाई वडा कार्यालयमा बुझाउनु पर्ने विविध शुल्कमा छुट दिने नीति वडा कार्यालयले लिने बताइएको छ । वडाले कुल बजेटको ३० प्रतिशत शिक्षाको लागि छुट्याउँदै आएको छ । १० नंम्बर वडा शैक्षिक सुधार समितिका उपसंयोजक इन्द्र प्रसाद नेपालले पूर्वाधार विकास मात्रै विकास नहुने बताउँदै सामाजिक आर्थिक शैक्षिक प्रगती पनि विकासको स्वरुप हुने धारणा राख्नुभयो ।
१० नम्बर वडा कार्यालयको आयोजनामा चैत्र १८ गते वडा भित्रका ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्न लागिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*