१५ औं स्थापना दिवस मनायो
२६ वैशाख, हेटौँडा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण, हेडक्वार्टर मकवानपुरले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ ।
हेटौंडा ८ स्थित हेटौंडा कपडा उद्योगमा रहेको गणले सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति पोखरेलले सशस्त्र प्रहरी बलको योगदान, संगठनको गरिमा, देश तथा जनताप्रतिको समर्पणको भावना र सुरक्षा निकायबीचको समन्वयका विषयमा जोड दिनुभयो । उहाँले संगठनले केन्द्रित गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सुरक्षा र विपद् व्यवस्थापन अवधारणामा रहेर कार्यसम्पादनलाई अझै प्रभावकारी बनाउन अनुशासन र कार्यकुशलतामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । संगठनले दिएको जिम्मेवारीलाई समयमै परिपालना गर्दै प्रभावकारी र प्रभावशाली तरिकाले संगठनको उद्देश्य प्राप्तीमा लाग्न सबै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गणका सशस्त्र प्रहरी उपरिक्षक सन्तोष विक्रम शाहले गणले गतवर्ष मात्रै हेटौंडा ८ देवनगर टोलमा ४ बिगाह ३ कठ्ठा जग्गा प्राप्त भएको र भौतिक संरचना निर्माण गर्न बाँकी रहेको जानकारी दिनुभयो । बार्षिकोत्सव कार्यक्रमका अवसरमा सशस्त्र प्रहरी बलसँगको समन्वय, सहकार्य तथा योगदानको कदर गर्दै विभिन्न निकाय तथा व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो । साथै, सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको विविध हाजिरीजवाफ, दुई माइल दौड, बाधापार र टेबल टेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा रक्तदान र मन्दिर सरसफाई समेत गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।














