४ नं. वडा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

संवाददाता
२८ भाद्र २०८१, शुक्रबार १७:३५

२८ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं.४ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरको छैटौ बालमैत्री वडा घोषणा गरिएको हो । यस वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको ४ नम्बर वडाकी सदस्य एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति सह–संयोजक गिता त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको बताउनुभयो । पछाडि परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागिपरेको उहाँले बताउनुभयो । यस वडामा १८ वर्ष मुनिका ४ हजार २ सय ७० जना बालबालिका रहेका छन् ।
त्यसअघि हुप्रचौरबाट सुरु भएको बाजागाजा झाँकी सहितको बृहत प्रभातफेरी वडा परिक्रमा गरी कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा पुगेको थियो । यसैबीच ४ नं. वडाले बृहत शैक्षिक प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रम समेत गरेको छ ।साँस्कृतिक कार्यक्रम तर्फ एकल गायन प्रतियोगितामा श्रमिक माविकी अनिता कुमारी रौनीयार प्रथम, ब्रम्हदिक माविका विश्सन कार्की द्धितीय र आधुनिक राष्ट्रिय माविकी रञ्जिता सुनुवार तृतीय हुन सफल भए । नृत्य प्रतियोगिता तर्फ नवोदय शिशु सदन, ब्रम्हदिक एकेडेमी र श्रमिक मावि क्रमश प्रथम, द्धितीय तृतीय भएका छन् ।
विषयगत शैक्षिक सामग्री प्रदर्शनी अन्तर्गत् गणित विषयको प्रदर्शनीमा भूटनदेवी प्रथम, ब्रम्हदिक दोस्रो र आधुनिक तेस्रो हुन सफल भए । विज्ञान विषयको सामग्री प्रर्दशनीमा आधुनिक राष्ट्रिय मावि प्रथम, भूटनदेवी द्धितीय र नवोदय शिशु सदन तृतीय भएका छन् । सामाजिक विषयको प्रदर्शनीमा आधुनिक राष्ट्रिय मावि पहिलो, भूटनदेवी मावि दोस्रो र ब्रम्हदिक तृतीय भएका छन् ।
प्रथम, द्वितीय र तृतीय हुने सबैले प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*