जनताको जीवनस्तरमा सुधार ल्याउन नसकिए कुनै पनि व्यवस्था सफल हुन सक्दैनः प्रदेश प्रमुख देवकोटा
१५ जेठ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गणतन्त्रको वास्तविक सार राज्यको शक्ति र स्रोतमा आम नागरिकको समान पहुँच सुनिश्चित गर्नु रहेको बताउनुभएको छ ।
१९ औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा शुक्रबार हेटौँडामा आयोजित समारोहमा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन नसकिए कुनै पनि व्यवस्था सफल हुन नसक्ने बताउनुभयो । राजनीतिक अधिकारको लडाइँ धेरै हदसम्म पूरा भइसकेको अवस्थामा अबको मुख्य ध्यान आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायतर्फ केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले गणतन्त्रलाई अधिकार र अवसरको व्यवस्था मात्र नभई साझा उत्तरदायित्वको व्यवस्थाको रूपमा बुझ्न आग्रह गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले व्यवस्थालाई संस्थागत गर्दै पारदर्शी, सुदृढ, जवाफदेही र जनमुखी बनाउन राजनीतिक दल, सरकार र नागरिक समाज सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन नभई जनताको जीवनस्तर परिवर्तन गर्ने माध्यम भएको बताउनुभयो ।
उहाँले गणतन्त्रलाई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने व्यवस्था बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक मतभिन्नतालाई केही समयका लागि थाती राखेर विकास र जनसेवाको साझा एजेन्डामा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अहिलेको समय राष्ट्रिय सहकार्यको समय भएको उल्लेख गर्नुभयो । नयाँ पुस्ताको सोच, मनोविज्ञान र अपेक्षालाई समयमै बुझ्न नसकिए देश दीर्घकालीन अस्थिरतातर्फ धकेलिन सक्ने खतरा रहेको उहाँले चेतावनी दिनुभयो ।
गणतन्त्रले जनतालाई व्यवस्थाको मालिक बनाएको छः मुख्यमन्त्री बानियाँ
त्यसैगरी समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली जनतालाई शासन व्यवस्थाको वास्तविक मालिक बनाएको बताउनुभएको छ । उहाँले २०७२ साल असोज ३ गते जारी संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई राज्य व्यवस्थाको मूल आधारका रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।
उहाँले राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको शैली, व्यवहार तथा गलत आचरणका कारण जनतामा असन्तुष्टि बढ्दै गएको स्वीकार गर्नुभयो । विशेषगरी युवापुस्ताको असन्तुष्टिलाई बहाना बनाएर मुलुकमा राजनीतिक गतिरोध सिर्जना गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री बानियाँले संघीय सरकारका प्रारम्भिक गतिविधि र प्रवृत्तिले संघीयता नै जोखिममा पर्ने चिन्ता बढाएको उल्लेख गर्नुभयो । यद्यपि प्रदेश सरकार भने संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संरक्षणप्रति पूर्ण प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
राजनीतिक उपलब्धिको संरक्षणसँगै दिगो विकास, सुशासन र समृद्ध नेपाल निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले बागमती प्रदेश सरकार संविधानको मर्म र जनताको अपेक्षाअनुसार जनमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी, न्यायमुखी र गाउँमुखी सेवा प्रणालीलाई आत्मसात् गर्दै अघि बढिरहेको जानकारी दिनुभयो ।
समारोहमा प्रदेश सरकारले विधागत रुपमा ४ पत्रकारलाई पुरस्कृत गरेको हो ।
खोज पत्रकारिता पुरस्कार बापत नयाँ पत्रीकाका पोष्टराज अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट सुनिता विष्ट, सुशासन पत्रकारिता पुरस्कारबाट रामेछापका युवराज श्रेष्ठ र संघियता संस्थागत पुरस्कारबाट ललितपुरका रामहरि कार्की पुरस्कृत भएका हुन् । पत्रकरिताका माध्यमबाट गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिक तहसम्म सुचना सम्प्रेषणमा खेलेको भुमिकाको मुल्यांकनसहित उनिहरुलाई जनही ५० हजार नगद सहित पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता, खुल्ला दौड प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।














